काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी आवश्यक कानुनहरू समयमै तर्जुमा हुन नसक्दा आगामी निर्वाचनको पूर्वतयारी र व्यवस्थापनमा विविध चुनौती उत्पन्न भएको स्पष्ट पारेको छ। ललितपुरमा शुक्रबार सम्पन्न चौथो पञ्चवर्षीय रणनीतिक योजनाको मध्यावधि मूल्याङ्कन बैठकमा आयोगका अधिकारीहरूले ऐन निर्माणमा भएको ढिलाइले प्रविधिमैत्री निर्वाचन सञ्चालनमा बाधा पुर्याएको औँल्याएका हुन्।
आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले सामाजिक सञ्जालमा हुने दुष्प्रचार, एआई प्रविधिको दुरुपयोग तथा बढ्दो साइबर सुरक्षा जोखिम नियन्त्रण गर्न आधुनिक कानुनी संरचना आवश्यक भएको बताए। उनले २०८४ सालका आम निर्वाचनलाई लक्षित गरी कानुन सुधार, प्राविधिक सुदृढीकरण तथा आयोगको संस्थागत सबलीकरणका कामहरू तत्काल अघि बढाउनुपर्ने खाँचो औँल्याए।
विवरण अनुसार देशभरिका सबै मतदान केन्द्रहरूको जिपिएस लोकेसन र डिजिटल नक्साङ्कन सम्पन्न गरी पूर्वाधारको अवस्था विश्लेषण गर्ने कार्यलाई आयोगले अन्तिम चरणमा पुर्याएको छ। शान्ति सुरक्षा र आर्थिक स्रोतका लागि सङ्घीय सरकारमा भर पर्नुपर्ने अवस्था रहे पनि मतदाता शिक्षा र स्थानीय समन्वयलाई प्रभावकारी बनाउने रणनीति तय गरिएको छ।
आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मको रणनीतिक योजनाको सुरुवाती दुई वर्षमा २४ प्रतिशत क्रियाकलाप मात्र सम्पन्न भएको पाइएको छ। लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाउन र निष्पक्ष तथा समावेशी निर्वाचन सुनिश्चित गर्न संसद्बाट निर्वाचन कानुन छिटो पारित हुनुपर्नेमा सरोकारवालाहरूले साझा जोड दिएका छन्।


