काठमाडौँ : बंगलादेशमा लोकप्रिय विद्यार्थी नेता सरिफ ओस्मान हादीको निधनपछि देशभर प्रदर्शन चर्किएको छ । स्थिति नियन्त्रणबाहिर जान थालेपछि शुक्रबार ढाकासहित विभिन्न क्षेत्रमा प्रहरी र अर्धसैन्य दस्ता परिचालन गरिएको छ ।
बिहीबार राति देशका विभिन्न स्थानमा हिंसा, तोडफोड र आगजनीका घटना भएका छन्। प्रदर्शनकारीले दुई लोकप्रिय सञ्चारमाध्यम ‘प्रोथोम आलो’ र ‘डेली स्टार’को कार्यालयमा समेत आक्रमण गरेका छन् ।
आगामी फेब्रुअरी १२ मा आम चुनाव हुने तय भएको बेला भएको यो प्रदर्शनले अधिकारीहरूलाई चिन्तित बनाएको छ ।
छ दिनसम्म उपचारपछि इन्कलाव मञ्चका प्रवक्ता सरिफ ओस्मान हादीको बिहीबार निधन भएको थियो । बंगलादेशमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि सिंगापुर लगिएको थियो। गत साता शुक्रबार ढाकामा नकाबधारीले उनलाई टाउकोमा गोली हानेका थिए ।
गत वर्ष शेख हसिनाको सरकारविरुद्ध भएको प्रदर्शनमा हादी अग्र पङ्क्तिमा थिए । उनले बंगलादेशको राजनीतिमा भारतीय हस्तक्षेपको कडा विरोध गर्दै आएका थिए । बिहीबार राति भएको हिंसापछि प्रधानमन्त्री मोहम्मद युनुसले टेलिभिजन सम्बोधन गर्दै जनतालाई शान्त रहन आग्रह गरेका छन् ।
उनले हादीको निधनले देशको राजनीतिक विकासमा गहिरो असर पारेको बताए । साथै, हादीमाथि गोली चलाउनेलाई छानबिन गरी कठघरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

