काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार नेकपा (एमाले) का नेताहरूसँग छलफल गरिन् । छलफल आगामी फागुन २१ गतेको निर्वाचनमा केन्द्रित रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीसँग एमाले नेताहरूले पार्टी अध्यक्ष केपी ओलीलाई स्थानहद तोकिएको विषयमा प्रश्न गरेका थिए ।
एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विघटित संसदीय दलका मुख्य सचेतक महेश बर्तौला प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार गएका थिए ।
नेता बर्तौलाका अनुसार छलफलमा पार्टी अध्यक्ष ओलीलाई स्थानहद गरेको प्रति एमालेले असन्तुष्टि जनाएको थियो । तर, प्रधानमन्त्री कार्कीले यस विषयमा जवाफै नदिएको बर्तौलाले बताए ।
उनले भने, ‘सरकारले ठूलो लोकप्रिय मत पाएको दलका नेतालाई स्थानहद तोकेको छ। यसबाट सरकार व्यक्त गर्दा भन्दा निर्वाचनको पक्षमा देखिने तर, व्यवहार ठीक विपरीत भएजस्तो हामीले महसुस गरेका छौँ, सरकारको समग्र व्यवहारबाट हामी आश्वस्त हुने स्थिति छैन ।’
तर, प्रधानमन्त्री कार्कीले भने आफू चुनावको वातावरण बनाउन लागिपरेको बताएको बर्तौलाले उल्लेख गरे ।
प्रधानमन्त्री कार्कीलाई राखेको धारणा उद्धृत गर्दै उनले थपे, ‘उहाँले हामी सरल वातावरण बनाउने पक्षमा लागेका छौँ, उहाँले हामी प्रयास गर्छौँ, हामी अधिकतम् राम्रो गर्नेगरी सरकारी तहबाट तयारी गर्छौँ भन्नुभयो। स्थान हदको विषयमा उहाँले केही भन्नुभएन, हामी चुनावमा सकारात्मक ढंगले लाग्छौँ दलहरूबीचको संवाद र सहकार्य सहज बनोस् भन्ने पक्षमा सरकार लागेको छ भनेर उहाँले भन्नुभयो।’
प्रधानमन्त्री कार्कीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको चुनावमा सघाउन एमालेका नेताहरूसँग आग्रह गरेकी थिइन् । बालुवाटारमा भएको सो छलफलमा चुनावमा जान आफूहरूलाई कुनै समस्या नरहे पनि अझै आफ्ना अध्यक्षमाथि स्थानहद गरिएको र सरकारी क्रियाकलापले चुनावी वातावरण नबनेकोले यसको व्यवस्थापन गर्नुपर्ने एमालेको भनाई थियो।
यस्तै, फलफलमा एमाले सरकार गठन र सरकारले गरेको संसद विघटन असंवैधानिक भएकोधारणा राखेको थियो ।
‘यसको संवैधानिक परिक्षण संवैधानिक अदालतबाट हुनेछ, त्यसको लागि दर्जनौ, रिटहरू परेको छ, त्यसको संवैधानिक परीक्षणसँग विषयको फैसला सम्मानितत अदालतबाट आएपछि आगामी यात्रा के हुने भन्नेकुरा निर्धारण गर्छ’ बर्तौलाले भने ।
यस्तै, लुटेका हतियार, भागेका कैदीबन्दीलगायत अहिलेका गतिविधिले निर्वाचन भयरहीत वातावरणमा हुनेमा एमालेले आशंका गरेको थियो ।

