May 28, 2022, Saturday
२०७९ जेष्ठ १४, शनिबार
KN hd tv

जुम्लामा सत्ता गठबन्धनबीच तालमेलको सम्भावना न्यून

जुम्ला –  सत्ता गठबन्धन दलबीच पालिका र वडा बाँडफाँटमा कुरा नमिलेपछि जुम्लामा तालमेलको सम्भावना न्यून भएर गएको छ । गठबन्धनसम्बद्ध सबै दल आफ्नो अस्तित्व रक्षा हुने गरी पालिका र वडामा भागबन्डा हुनुपर्ने अडानमा छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भएका अहिलेसम्मका सबै वार्ता निष्कर्षविहीन भएका छन् ।

कांग्रेस पूर्व सभापति दीपबहादुर शाही गठबन्धन दलबीच पेचिलो छलफल चलिरहेको भए पनि कुनै निष्कर्ष निस्कन नसकेको बताउँछन् । उनले विकल्पको अनेकौं खोजी भइरहेको बताउँदै पालिका र वडामा पाउनुपर्ने सीट संख्यामा आ-आफ्नै अडान हुन थालेपछि निचोडमा पुग्न कठिन भएको जानकारी दिएका छन् । अहिलेसम्म तालमेलका विषयमा गठबन्धन दलबीच बसेका ४ वटा बैठकले निचोड निकाल्न सकेका छैनन् ।

एकीकृत समाजवादीले माओवादी केन्द्रका कारण जुम्लामा गठबन्धन दलबीचको तालमेल अन्योलमा परेको आरोप लगाएको छ । एकीकृत समाजवादीका जुम्ला सचिव आदीप्रसाद न्यौपानले भने, ‘माओवादी हामी ठूलो दल भन्छ । कांग्रेस हामी ठूलो भन्छ । माओवादी केन्द्रले समाजवादीलाई गर्ने व्यवहार घृणित खालको छ । यो अवस्थामा कसरी तालमेल हुन सक्छ ।’

उनका अनुसार कांग्रेस-समाजवादी र माओवादी-कांग्रेसबीच पनि छुट्टाछुट्टै बैठक भइरहेका छन् । सबै विकल्पको खोजी गरिएको छ । अन्तिममा एकल चुनावमा जानुपर्ने अवस्था छ । सचिव न्यौपानेले थपे, ‘हामीलाई सनाखत गरेको एक उपाध्यक्षसहित ११ वडाध्यक्ष मात्र भिडाउन खोजियो; त्यो सह्य हुँदैन ।’ समाजवादीले जुम्लामा एकल चुनावमा जाने लगभग पक्का गरिसकेको उनले बताए । उनले भने, ‘चुनावमा एकल रुपमा अघि बढिन्छ । आफ्नो मतको संरक्षण पनि हुन्छ । आंकलन पनि हुन्छ ।’

कुनै पार्टीले आफू ठूलो पार्टी भएको भन्दै होच्याउने गरी तालमेल हुन सक्दैन । एकीकृत समाजवादी एमालेतिर जाँदैन, कांग्रेसतिर पनि जाँदैन । तपाईंहरू जित्नूस् भनेर भनिसकेका छौँ । सम्भवतः तालेमलको ढोका करिब करिब बन्द हुने अवस्थामा छ ।’

नेकपा माओवादी केन्द्रका संयोजक बीरबहादुर कुँवर गठबन्धमा आ-आफ्नो अडान कायमै रहेकाले तालमेलको विषय नटुङ्गिएको बताउँछन् । समाजवादीले पहिलेको एमालेको हैसियत खोज्छ । उनले भने, ‘कांग्रेस पनि त्यहीअनुसार अघि बढिरहेको छ । तालमेलको अवस्था निष्कर्षमा पुग्न सकिरहेको छैन ।’

गठबन्धनभित्र नेता कसरी ‘सेटल’ गर्ने भन्ने विषयले समस्या सिर्जना भइरहेको छ । गठबन्धनबीचको तालमेलका कारण गुणस्तरहीन नेतृत्व आउने भन्दै जनताले समेत गुणस्तरीय नेतृत्व छनोट गर्न माग गरेका छन् । तालमेलका लागि कांग्रेस सभापति कणर्बहादुर शाहीको संयोजकत्वमा कार्यदल बनिसकेको छ । कार्यदलले समेत तालमेल गरेर जाने नीतिगत निणर्य गरिसकेको छ ।

जुम्लामा स्थानीय तह निर्वाचन २०७४ मा चन्दननाथ नगरपालिका सहित ४ स्थानमा प्रमुख र दुई उपाध्यक्ष नेपाली कांग्रेसले जितेको थियो । माओवादीले ३ स्थानमा अध्यक्ष र नगरपालिकाको उपप्रमुखसहित ५ स्थानीयतहमा उपाध्यक्ष जितेको थियो । एमालेले तिला गाउँपालिकामा अध्यक्ष र सिञ्जा गाउँपालिकामा उपाध्यक्ष जितेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको