टेलिकमको नयाँ प्रिपेड सिम अब हुलाकमार्फत घरमै, यस्तो छ अनलाइन आवेदन दिने प्रक्रिया
काठमाडौँ । नेपाल टेलिकमले काउन्टरमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै हुलाकमार्फत सिधै घरमै नयाँ सिमकार्ड पुर्याउने ‘हुलाक सिम सेवा’ सुरु गरेको छ । कम्पनीले हुलाक सेवा विभागसँग सहकार्य गरी अनलाइन प्रणालीमार्फत ग्राहकको घरदैलोमै फिजिकल प्रिपेड सिम उपलब्ध गराउन थालेको हो ।
उक्त सेवाको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले गरेका छन् । सेवा शुभारम्भसँगै मन्त्री तिमिल्सिना स्वयं यस सेवाको पहिलो सेवाग्राही बनेका छन् । उनलाई नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा हुलाक सेवा विभागकी महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले संयुक्त रूपमा सिम हस्तान्तरण गरेका थिए । मन्त्री तिमिल्सिनाले सरकारी सेवा प्रवाहलाई छरितो र झन्झटरहित बनाउन अनलाइन प्रविधिको विस्तार अपरिहार्य रहेको उल्लेख गरे ।
सेवा लिनका लागि सेवाग्राहीले नेपाल टेलिकमको वेबसाइटमा रहेको हुलाक सिम सेवा सेक्सनमा गएर आफ्नो नाम, ठेगाना, जन्ममिति, नजिकको ल्यान्डमार्क तथा नागरिकता वा राहदानीको फोटो अपलोड गरी आवेदन दिनुपर्नेछ । टेलिकमबाट विवरण प्रमाणीकरण भएपछि ग्राहकलाई एसएमएसमार्फत जानकारी पठाइनेछ । आवेदन स्वीकृत भएपछि सिम कार्डबापत ९० रुपैयाँ र डेलिभरी शुल्क ७० रुपैयाँ गरी कुल १६० रुपैयाँ नमस्ते पे वा अन्य डिजिटल वालेट तथा बैंकिङ एपबाट भुक्तानी गर्न सकिन्छ ।
भुक्तानी सम्पन्न भएपछि ग्राहकलाई एसएमएस र इमेलमार्फत डेलिभरी पुष्टि र गोप्य एक्टिभेसन कोड प्राप्त हुनेछ । हुलाकमार्फत सिम घरमा प्राप्त भएपछि उक्त एक्टिभेसन कोड प्रयोग गरेर सिम सक्रिय गर्न सकिने टेलिकमले जनाएको छ । यस व्यवस्थाले सुगमका साथै दुर्गम तथा ग्रामीण भेगका बासिन्दाले पनि घरमै बसेर सहजै नयाँ सिम प्राप्त गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्