October 18, 2026, Sunday
KN hd tv

एमालेले संसद्को अवरोध जारी राख्ने ओलीको संकेत

काठमाडौं-  संघीय संसद्को हिउँदे अधिवेशन पनि चल्न नदिने संकेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्। उनले दोस्रो पटक अध्यक्षका लागि पदबहाली गर्ने क्रममा यस्तो संकेत गरेका हुन्। सरकारले मंसिर २८ गतेबाट संसद अधिवेशन बोलाएको छ।

आफूले निष्कासन गरेका व्यक्ति संसदभित्र राखेर संसद् चलाइरहेको बताउँदै ओलीले असन्तुष्टि व्यक्त गरेका छन्। उनले भने, ‘हामीले निष्कासन गरेका व्यक्ति संसदभित्र राखेर संसद चलाउने? हामीले पार्टीबाट साउन २५ गते निष्कासन गरेका व्यक्ति असार ५ गते आउँछन् भने स्वीकार्य हुँदैन।’

सभामुख अग्निप्रसाद सापकोटाले एमालेविरुद्ध अनुचित गठबन्धन गरेको उनको भनाइ छ। ‘सभामुखजी अनुचित गठबन्धन गरेर लाग्नुभएको छ। एमाले विरुद्ध लाग्नुभयो। अवैध ढंगले पार्टी फुटाउन लाग्‍नुभयो’, ओलीले भने।

एमालेको अवरोधकै बीच वर्खे अधिवेशन अन्त्य गरिएको थियो।

उनले कार्यपालिकासमेत सही ढंगले नचलेको बताए। महँगी बढ्दो भएपनि सरकारले कुनै चासो नदेखाएको उनले उल्लेख गरे। कोरोनाको नयाँ भेरियन्ट आइरहेको भएपनि त्यता चासो नभएको उनको भनाइ छ। 

उनले थपे, ‘जनताका अनेक समस्या छन्। त्यता ध्यान गएको छैन। सरकार उल्टो बाटोमा लागेको छ।’

शीर्ष समाचार

धेरै पढिएको