October 17, 2026, Saturday
KN hd tv

बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपालीहरूको महान् चाड बडादसैँको अवसरमा विश्वभर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र प्रगतिको मंगलमय शुभकामना व्यक्त गरेका छन् । दसैँले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्दै आपसी आत्मीयता र सहकार्यलाई थप प्रगाढ बनाउने विश्वास उनले व्यक्त गरे ।

शुभकामना सन्देशमार्फत प्रधानमन्त्री शाहले दसैँ पारिवारिक मिलन र पुस्तान्तरणको पर्व भएको उल्लेख गर्दै सानाप्रति स्नेह र अग्रजप्रति सम्मान प्रकट गर्ने नेपाली मौलिक संस्कारलाई यसले उजागर गरेको बताए । चाडपर्वले सत्य, निष्ठा र सुशासनको मार्गमा अघि बढ्न सम्पूर्ण राज्य संयन्त्र तथा आम नागरिकलाई प्रेरणा प्रदान गर्ने उनको विश्वास छ ।

प्रधानमन्त्रीले जीवनमा आइपर्ने विभिन्न संकट र विपत्तिका बीच पनि नेपाली समाजले आफ्नो सांस्कृतिक मौलिकता र भाइचारालाई जीवित राखेको स्मरण गरे । ‘दसैँ आसुरी प्रवृत्तिमाथि सत्यको विजयको उत्सव हो, तसर्थ हामी सबैले आफैँभित्रका नकारात्मक सोच र अहंकारलाई त्यागेर सकारात्मकतातर्फ उन्मुख हुनुपर्छ,’ उनले भनेका छन् ।

विभिन्न बाध्यताले गर्दा चाडबाडमा आफ्ना परिवारसँग भेट हुन नसकेका प्रवासी नेपालीहरूको भावनालाई स्मरण गर्दै प्रधानमन्त्री शाहले देशको अर्थतन्त्रलाई बलियो बनाई नागरिकको सुखद भविष्य निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । दसैँलाई कुनै पनि नागरिकका लागि आर्थिक बोझ बन्न नदिई सभ्य, भव्य र आत्मीय वातावरणमा मनाउन उनले अपिल गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको