आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशका अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहे पनि पहाडी तथा हिमाली भेगमा आंशिक बदली रहनेछ । पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आइतबार दिउँसो देशको हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका साथै हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश र अन्य तराई भू-भागमा भने आंशिक बादल रहे पनि लुम्बिनी र सुदूरपश्चिमको तराईमा मौसम मुख्यतया सफा रहनेछ ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिममा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही भू-भागमा बिहानपख हल्का हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले सवारी चालकहरूलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका थोरै स्थानहरूमा राति पनि हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहनेछ । मौसममा विस्तारै चिसो बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन र दैनिक कामकाजमा मौसमको अवस्था ख्याल गर्न सुझाव दिइएको छ ।

प्रतिकृया दिनुहोस्