दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
चितवन । हिन्दुहरूको महान् पर्व बडादसैँको रौनक छाएसँगै चितवन जिल्लामा खसीबोका तथा च्याङ्ग्राको कारोबार ३० करोड रुपैयाँभन्दा बढी हुने भएको छ । चाडबाडका अवसरमा परम्परागत रूपमा मासुको खपत बढ्ने भएकाले यस वर्ष जिल्लामा १५ हजारभन्दा बढी खसीबोका बिक्री हुने व्यवसायीहरूले बताएका छन् ।
मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलका अनुसार यस वर्षको दसैँमा मात्रै १५ हजारभन्दा बढी खसी–च्याङ्ग्रा खपत हुने प्रारम्भिक आंकलन छ । गत वर्ष १० हजार हाराहारीमा बिक्री भएकोमा यस वर्ष फूलपाती अगावै घटस्थापनादेखि नै बजारमा उत्साहजनक चहलपहल देखिएको छ । चितवनमा सञ्चालित १ हजारभन्दा बढी मासु पसलमार्फत नियमित बिक्री भइरहेको र यस तथ्याङ्कमा किसानले आफ्नै घरमा उपभोग गर्ने खसीबोका भने समावेश छैन ।
स्थानीय उत्पादन र सहकारीहरूको सक्रियताले गर्दा चितवनमा पछिल्लो पाँच वर्षदेखि भारतीय खसीबोकाको आयात ठप्प भएको छ । जिल्लाका सहकारीमार्फत ठूलो संख्यामा खसीबोका उत्पादन भई काठमाडौँसम्म पठाइनुका साथै छिमेकी जिल्लाहरू गोरखा, धादिङ, नवलपरासी र तनहुँबाट आपूर्ति भइरहेको छ । हाल चितवनको बजारमा जिउँदो खसीको दर प्रतिकिलो ७०० रुपैयाँभन्दा माथि र तयारी मासु प्रतिकिलो १ हजार २०० रुपैयाँ कायम रहेको छ ।
यस वर्ष हिमाली जिल्लाहरू जुम्ला, बझाङ, डोल्पा र मुस्ताङबाट ३ हजारभन्दा बढी च्याङ्ग्रा चितवन आइपुगेका छन् । कुखुराको मासुको तुलनामा दसैँमा रातो मासुको माग अत्यधिक हुने भएकाले यस पटकको चाडबाडले चितवनको कृषि तथा पशु व्यवसाय क्षेत्रमा उल्लेख्य आर्थिक चलायमान ल्याएको व्यवसायीहरूको निष्कर्ष छ ।

प्रतिकृया दिनुहोस्