लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
काठमाडौँ । लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले उनलाई शनिबार ललितपुरबाट नियन्त्रणमा लिएर हिरासतमा राखेको हो ।
नेपाल राष्ट्र बैंक ऐनविपरीतको कसुरमा संलग्न रहेको आशंकामा भट्टमाथि अनुसन्धान थालिएको प्रहरी अधिकारीहरूले बताएका छन् । विशेषगरी इनाम सापकोटासँग जोडिएको शंकास्पद आर्थिक कारोबार र कारोबार सञ्जालमा भट्टको संलग्नता देखिएपछि पक्राउ गरिएको जनाइएको छ ।
प्रहरी परिसर काठमाडौँका अनुसार भट्टमाथि अदालतबाट म्याद अनुमति लिएर विस्तृत छानबिन प्रक्रिया अगाडि बढाइनेछ । वित्तीय अनुशासन उल्लङ्घन तथा गैरकानुनी कारोबारका विभिन्न पाटोमाथि तथ्य प्रमाण संकलनको काम भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
लगानी बोर्डको नेतृत्व सम्हालिसकेका व्यक्ति नै वित्तीय अपराधसम्बन्धी अनुसन्धानमा तानिएपछि यस प्रकरणले नयाँ तरङ्ग पैदा गरेको छ । प्रहरीले घटनामा जोडिएका अन्य व्यक्तिहरूको समेत खोजी तथा अनुसन्धान तीव्र पारेको छ ।

प्रतिकृया दिनुहोस्