चाडै आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्छौ- मन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका छन्।
आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औं बेठकको समुद्घाटन समारोहमा बोल्दै मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन्।
उनले यात्रुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा ४ वटा सटल बस निःशुल्क सञ्चालन गरिने बताए।
‘आज हरेक व्यक्तिबाट प्लेनभन्दा ट्याक्सी महंगो भयो भन्ने गुनासो आएकाले अब हामी छिट्टै एउटा सटल बस आन्तरिक र बाह्य एयरपोर्टमा ४ वटा सटल बस सञ्चालन गर्दैछौं, नेपाल नागरिक उड्डयन प्राधिकरणले निःशुल्क सटल बस सेवा सञ्चालन गर्दैछौं,’ उनले भने।
मन्त्री आलेले विदेश जाने मजदुरको लागि विमास्थलमा विश्राम घरको निर्माण गर्न निर्देशन दिएको पनि बताए।
‘यो मन्त्रालयले विगतमा भन्दा अहिले धेरै तीव्रताका साथ काम गरेका छ, विगतमा हरेक मन्त्री आइसकेपछि बुझ्नलाई धेरै समय लगाउनुहुन्थ्यो, तर म आइसकेपछि तीव्रताका साथमा विगतमा १०४ दिनदेखि नेपाल एयरलाइन्सको अफिसमा भएको तालाबन्दी खुलाउने कामहरू गरेँ। पीसीआरमा व्यापक अनियमितता भएको कुरा थियो, त्यसलाई मैले नियन्त्रण गरेँ, त्यसपछि जति पनि विदेश जाने हाम्रा श्रमजीवि मजदुरको निमित्त एउटा छुट्टै विश्राम घरको निर्माण गर्ने भनेर मैले निर्देशन दिइसकेको छु’, उनले भने।
उनले भारतीय समकक्षीसँगको भेटमा नेपाललाई भारतलगायत मध्यपूर्व र पश्चिमी मुलुकसँग जोड्ने पश्चिमतर्फको हवाइ रूट लिमा–६२६ लाई दुईतर्फी बनाउन पनि आग्रह गरेको बताए।
‘म अस्ति २६ गते दिल्ली गएको थिएँ, क्याबिनेटबाट अनुमोदन गरेर नेपाल सरकारले मलाई पठाएपछि मैले दुई दिने भ्रमणमा त्यहाँका पर्यटन मन्त्री र नागरिक उड्डयन मन्त्रीसँग आधा घण्टा मेरो छलफल भयो, नेपालीमा कुरा गरेँ, नेपाललाई भारतलगायत मध्यपूर्व र पश्चिमी मुलुकहरुसँग जोड्ने पश्चिमतर्फको हवाइ रुट लिमा–६२६ लाई दुईतर्फी बनाउन पनि आग्रह गरेँ’, उनले भने, ‘दिल्लीमा ६२६ वान वे छ, त्यसलाई टू वे सञ्चालन गर्नुपर्यो भनेर आग्रह गरेँ, जुन हाम्रो भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सम्माननीय प्रधानमन्त्रीज्यूबाट छिटै उद्घाटन पनि गर्दैछौँ, त्यसलाई पनि भोलि गएर ल्याण्डिङ र टेकअप गर्नको लागि समस्या भएको हुनाले त्यसलाई छिटो टू वे बनाउनुपर्यो भनेर मैले अनुरोध गरेको छु।’
पर्यटनमन्त्री आलेले भारतीय सिभिल एभिएसन मन्त्री ज्योतिरादित्य एम सिन्धियासँग भारतमा नेपाल एयरलाईन्सको दुई वटा विमान उडान भर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको बताए। ‘अहिले हाम्रो नेपाल एयरलाइन्सको जहाज एउटा मात्रै दिल्ली जाने गर्छ,कम्तिमा त्यसलाई दुई वटा बनाइदिनु पर्यो भनेको छु, नेपालको जहाजबाट भारतको जहाज नेपाल र नेपालका जहाजबाट भारत जाँदा विदेशीहरुले चढ्न नपाउने एयर बबल त्यहाँ लागू भएको छ त्यसलाई पनि छिटै हटाउनुपर्यो भनेर समकक्षी मन्त्रीलाई भनेको छु।’

प्रतिकृया दिनुहोस्