काठमाडौं । संघीय संसद अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक सिंहदरबारमा बस्नेछ ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक बिहान ११ बजे सुरु हुनेछ । उक्त बैठकमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयमा छलफल हुनेछ । बैठकमा समिति सदस्यहरूका साथै राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र नेपाल उद्योग परिसंघ (CNI) का प्रतिनिधिहरू सहभागी हुनेछन् ।
सार्वजनिक लेखा समितिको बैठक पनि बिहान ११ः०० बजेका लागि तय गरिएको छ । सो बैठकमा समितिमा प्राप्त उजुरीहरूबारे छलफल गरिनेछ ।
त्यसैगरी, राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता, पूर्व बजेट सम्बन्धी विषयमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिहरूसँग छलफल गरिनेछ ।
साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे सुरु हुनेछ । बैठकमा विपद् व्यवस्थापनसम्बन्धी कार्यहरू, विपद् जोखिम न्यूनीकरणका तयारी, भावी कार्ययोजना तथा विविध विषयहरूमा छलफल हुनेछ ।

