काठमाडौंमा गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शन, सुरक्षा व्यवस्था कडा

काठमाडौं – काठमाडौंमा आज (शुक्रबार) गणतन्त्रवादी र राजावादी पक्षले छुट्टाछुट्टै प्रदर्शन गर्दै छन्। काठमाडौं प्रशासनले माओवादी केन्द्रसहितको समाजवादी मोर्चालाई भृकुटीमण्डपमा सभा गर्न अनुमति दिएको छ भने राजावादी समूहलाई तीनकुनेमा कार्यक्रम गर्न स्वीकृति दिएको छ।

एसइई परीक्षा भइरहेको कारण प्रशासनले दुबै समूहलाई बिहान ११ बजेपछि मात्रै प्रदर्शन सुरु गर्न निर्देशन दिएको छ। समाजवादी मोर्चाले मध्यान्ह १२ बजेबाट विभिन्न स्थानबाट र्‍याली सुरु गरी दिउँसो १ बजे भृकुटीमण्डपमा सभा गर्ने योजना बनाएको छ। माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा, नेपाल समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) ले विभिन्न स्थानबाट जुलुस निकाल्ने छन्।

त्यस्तै, राजावादी पक्षको प्रदर्शनको नेतृत्व दुर्गा प्रसाईंले गर्नेछन्। राजावादी समूहले सिनामंगल र भक्तपुर क्षेत्रबाट र्‍याली निकालेर तीनकुनेमा सभा गर्ने तयारी गरेका छन्।

दुबै समूहको प्रदर्शनका कारण काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। विभिन्न सडक मार्ग बन्द गरिएका छन् भने बिहानैदेखि ट्राफिक डाइभर्सन गरिएको छ। सुरक्षा व्यवस्था कडा पार्दै काठमाडौं प्रहरी परिसरका प्रमुखको कमाण्डमा ३,५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

आजको प्रदर्शनलाई दुबै पक्षले शक्ति प्रदर्शनको रूपमा लिएका छन्। गणतन्त्र पक्षधर दलहरूले देशभरका विभिन्न स्थानबाट हजारौं समर्थक काठमाडौं ल्याएका छन् भने राजावादी समूहले पनि व्यापक जनसहभागिता जुटाउने तयारी गरेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा