पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह आज (आइतबार) पोखराबाट काठमाडौं प्रस्थान गरेका छन्। पोखरा विमानस्थलमा सयौं समर्थकहरूले बाजागाजासहित फूलमाला लिएर उनलाई बिदाइ गरेका हुन्। उनी समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत काठमाडौं गएका छन्।
काठमाडौंमा उनको भव्य स्वागतको तयारी गरिएको छ। विमानस्थलमा राजावादी समर्थकहरूले ‘राजा आउ, देश बचाऊ’ भन्दै नाराबाजी गरेका छन्। सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै प्रहरीले विमानस्थलमा कडा सतर्कता अपनाएको थियो।
पूर्वराजाले पोखरामा रहँदा विभिन्न शक्तिपीठहरूको दर्शन गरेका थिए। उनले माघ २७ गते विन्ध्यवासिनी मन्दिरको दर्शन गरेका थिए भने फागुन २२ गते वीरेन्द्रचोकमा राजा वीरेन्द्रको शालिक अनावरण गरेका थिए। पोखरामा रहँदा उनले शनिबार राति माउन्ट ग्लोरी रिसोर्टमा आफ्ना निकट व्यक्तिहरूसँग विशेष रात्रिभोजसमेत गरेका थिए।
