नेपाल प्रहरीको आईजीपीमा मनोज केसी नियुक्त, दानबहादुर कार्की सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौँ । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी मनोजकुमार केसीलाई नियुक्त गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै अपराध अनुसन्धान विभागका प्रमुख केसीलाई महानिरीक्षक पदमा पदोन्नतिसहित जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार सङ्गठनलाई थप प्रभावकारी बनाउन नेतृत्व परिवर्तनको निर्णय लिइएको हो ।

अनुसन्धानमा अब्बल अधिकृतको रूपमा पहिचान :
नवनियुक्त आईजीपी मनोज केसी निष्ठावान् र व्यावसायिक प्रहरी अधिकृतका रूपमा चिनिनुहुन्छ । उहाँ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वमा रहँदा भएको नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पाएको थियो । उच्च राजनीतिक र प्रशासनिक नेतृत्वलाई समेत अनुसन्धानको दायरामा ल्याएर कानुनको सर्वोच्चता स्थापित गर्न उहाँले देखाएको अडानले उहाँलाई जनस्तरमा लोकप्रिय बनाएको थियो ।

बहालवाला आईजीपी कार्कीसँग प्रहरी पोशाक खरिद तथा अन्य प्रशासनिक विषयमा सरकारको विवाद चुलिँदै गएको थियो । संसद्मा समेत प्रहरी खरिद प्रक्रिया र बिचौलिया साँठगाँठबारे प्रश्न उठेपछि मन्त्रिपरिषद्ले सङ्गठनभित्रको गतिरोध अन्त्य गर्न नेतृत्व फेरबदल गरेको हो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा