काठमाडौं — भावी गभर्नरका रुपमा प्रस्तावित अर्थविद् विश्व पौडेलविरुद्ध परेको रिटमा भएको दरपीठको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा नयाँ निवेदन दर्ता भएको छ। अधिवक्ता विशाल थापालगायतले दायर गरेको रिटमा रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठको आदेश दिएका थिए।
तर उक्त आदेशविरुद्ध शुक्रबार नै दायर गरिएको निवेदन आइतबार दर्ता भएको हो। अब यस सम्बन्धी सुनुवाइ आउँदो जेठ ६ गतेका लागि तय गरिएको छ। सुनुवाइपछि पौडेलविरुद्धको रिट दर्ता हुने वा नहुने विषयमा निर्णय हुनेछ।
हालै सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विश्व पौडेललाई गभर्नर बनाउने सहमति बनेपछि उनीविरुद्ध रिट पेस गरिएको हो। सरकारले चैत ११ गते गठन गरेको गभर्नर सिफारिस समिति विघटन गरी नयाँ समिति गठन गरिसकेको छ, जसको संयोजक अर्थमन्त्री विष्णु पौडेल छन्। समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य छन्।
गत चैत २५ यता गभर्नर पद रिक्त रहेको छ भने हाल डा. नीलम ढुंगाना कायममुकायम गभर्नरको जिम्मेवारी सम्हालिरहेका छन्।

