काठमाडौं — काठमाडौंको तीनकुनेमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै भएको आन्दोलनमा संलग्न अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईंसहित २६ जनालाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले आइतबार सो आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार इजलासमा बहस नभई म्याद थप मात्र गरिएको हो।
प्रहरीले उनीहरूमाथि राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी अभियोगमा अनुसन्धान गरिरहेको छ। संगठित अपराध अन्तर्गत ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न कानुनी प्रावधान छ।
यसअघि, आन्दोलनमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सर्वोच्च अदालतले हाजिर जमानीमा रिहा गर्न आदेश दिएको थियो। मिश्रको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएकोमा न्यायाधीश तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले रिहाको आदेश दिएको हो।
गत चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलन हिंसात्मक बनेपछि झडपमा परी दुई जनाको ज्यान गएको थियो। उक्त घटनापछि प्रहरीले प्रसाईंसहितका अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान जारी राखेको हो।

