पाल्पा – लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले पाल्पाबाट मातृ तथा शिशु मृत्युदर घटाउने विशेष अभियान सुरू गरेको छ।
प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार मातृ र नवजात शिशु मृत्युदरलाई दोहोरो अंकबाट एकल अंकमा ल्याउने लक्ष्यसहित मोबाइलमार्फत पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गरिने छ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले तानसेनबाट अभियानको शुभारम्भ गरेका छन्। उनले ४२ दिनसम्मको सुत्केरी अवस्था र दुई वर्षमुनिका शिशुहरूको पहिचान गरी स्वास्थ्य तथा पोषण सुधार गर्ने उद्देश्य रहेको बताए। साथै, २० वर्षभन्दा कम उमेरमा विवाह गर्नेको संख्या उच्च भएकाले किशोर-किशोरीलाई पनि अभियानमा संलग्न गरिने उनले जनाए।
अभियान अन्तर्गत ६५ हजार घरपरिवारमा स्वास्थ्यकर्मी परिचालन गरिने छ। सेवाग्राहीलाई नियमित स्वास्थ्य सेवामा जोड्न मोबाइल सन्देशको प्रयोग गरिने छ। कार्यक्रमका लागि पाल्पामा ३९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
प्रदेश सरकारले बाँके र अर्घाखाँचीमा पनि अभियान सञ्चालन गर्दै छ। बाँकेमा ९४ हजार र अर्घाखाँचीमा ४८ हजार घरपरिवारमा स्वास्थ्यकर्मी खटाइनेछ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा प्रति एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने गरेको छ, जसमा लुम्बिनी प्रदेशको मृत्युदर सबैभन्दा उच्च छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनीमा यो संख्या प्रति एक लाख जीवित जन्ममा २०७ रहेको छ, जुन देशकै सबैभन्दा गम्भीर स्थिति हो।
यस अभियानले गर्भवती महिलाको निगरानी, खोपबाट वञ्चित बालबालिकाको पहिचान तथा पोषण सुधारमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

