काँग्रेस विशेष महाधिवेशन : प्रतिनिधि नाम दर्ता सुरु

काठमाडौँ : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा प्रतिनिधिहरूको नाम दर्ता सुरु भएको छ।

महाधिवेशन स्थलको मूल गेट नजिकै राखिएको स्टलबाट केही बेरअघि नाम दर्ता प्रक्रिया थालिएको हो। कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरू नाम दर्ता गरी कार्ड लिने क्रममा छन्।

विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार नाम दर्ताका लागि परिचय खुल्ने कागजात र एक प्रति पासपोर्ट साइजको फोटो अनिवार्य गरिएको छ।

महाधिवेशनको उद्घाटन अघि काठमाडौँ उपत्यकाका विभिन्न ६ स्थानबाट जुलुस निकालिने कांग्रेसले जनाएको छ।

विशेष महाधिवेशन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन हुने तय भएको छ। उद्घाटन कार्यक्रमपछि आजै बन्द सत्र सुरु हुनेछ। बन्द सत्रको सभापतित्व जेष्ठ सदस्यले गर्नेछन्।

पार्टी विधानको धारा १७(२) बमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेका हुन्। सोही आधारमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन आह्वान गरेका हुन्। कांग्रेसको संस्थापन पक्षले भने विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा