काठमाडौँ : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङमा गएको शुक्रबार स्थानीय र प्रहरीबीच झडप हुँदा हालसम्म स्थिति सामान्य भएको छैन । स्थानीय आक्रोशका कारण इलाका प्रहरी कार्यालयमा तोडफोड भएको छ ।
शुक्रबार साँझ ल्हाँ गाउँका ३४ वर्षीय जुन रोकायलाई प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न भएको आशंकामा छेप्के पुलमा जाँच गर्न खोज्दा विवाद उत्पन्न भएको थियो । प्रहरीले जाँच गर्दा रोकाय आत्तिएर ठूलो भेरी नदीमा हाम फालेका थिए ।
स्थानीय र प्रहरीबीचको तनाव बढ्दै गएपछि शनिबार साँझ ल्हाँ गाउँका बासिन्दाले प्रहरी चौकी तोडफोड गरेका थिए । यस क्रममा चौकीमा खटिएका १० जना प्रहरीमध्ये तीन जना घाइते भएका छन् ।
डोल्पाका प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काका अनुसार, ‘बेपत्ता युवाले एक ट्रक ड्राइभरलाई ब्राउन सुगर बुझाउँदै छन् भन्ने सूचना आएको थियो । सूचनाको आधारमा प्रहरीले जाँच सुरु गरेको थियो, तर उनी आत्तिएर भेरीमा हाम फाले।’
तर स्थानीय बासिन्दाले भने प्रहरीले रोकायलाई लखेटी नदीमा खसालेको आरोप लगाएका छन् । बेपत्ता युवकको अवस्था अझै अज्ञात छ ।
यसैबीच, घटनाको छानबिनका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रामप्रसाद घर्ती मगरको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । इलाका प्रहरी कार्यालयका सबै १० जना प्रहरी जिल्ला सदरमुकाम तानिएका छन्।
डोल्पाका प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाका अनुसार चौकीमा तोडफोड र आक्रमणपछि केही प्रहरी सुरक्षित स्थानमा गएका थिए। अवस्था सामान्य भएपछि शनिबार राति सबै सम्पर्कमा आएका छन्।
स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गरी विवाद समाधानको प्रयास भइरहेको प्रहरीले जनाएको छ । यद्यपि, घटनाप्रति आक्रोशित स्थानीयले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।

