काठमाडौं : नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा मोबाइल र उम्मेदवारको सूची लैजान रोक लगाइएको छ ।
केपी शर्मा ओली र ईश्वर पोखरेल पक्षले आ–आफ्नो प्यानलका उम्मेदवारहरुको नामावली प्रतिनिधिलाई बाँडेको खबरपछि मोबाइल र उम्मेदवारको लिस्ट लैजान रोएिका हो ।
यसअघि विहान मतदान सुरु हुँदा रोक लगाइएको थिएन ।
एमाले नयाँ नेतृत्व चयनका लागि आज बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो ।
मतदानको सुरुवात शीर्ष नेताहरुले गरेका थिए । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले सँगसँगै मतदान सुरु गरेका थिए । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
एमालेको नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ मेसिन प्रयोग गरिएको छ । मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिहरु लामबद्ध भएर पालैपालो मत खसालिरहेका छन् । प्रतिनिधिहरुको लाइनमा पुगेर उम्मेदवारहरुले भोट मागिरहेका छन् ।
एमालेका कुल २ हजार २६३ प्रतिनिधिहरु छन् । एमाले नेता राजेन्द्र गौतमका अनुसार बिहान साढे ११ बजेसम्ममा साढे तीन सय मत खसेको छ ।यस हिसाबले मतदान सकिएर नतिजा आउन आज मध्यरातसम्म लाग्ने अनुमान छ ।

