काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाललाई लोडसेडिङ मुक्त गर्ने काम केपी ओलीले गरेको बताएका छन् ।
कुलमान घिसिङको उज्यालो नेपाल पार्टीप्रति लक्षित गर्दै उनले लोडसेडिङ मुक्त गरेर उज्यालो नेपाल बनाउने योजना एउटाको भए पनि जस अर्कैले लिएको दाबी गरेका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले उज्यालो नेपालका योजनाकारलाई श्रेय कहिले दिने भनेर प्रश्न गरेका छन्। विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक घिसिङको नेतृत्वमा हिजो उज्यालो नेपाल पार्टी घोषणा भएपछि पोखरेलले सो यस्तो कटाक्ष गरेका हुन्।
उनले लोडसेडिङ मुक्तको जस लिएको भन्दै पूर्वमन्त्री जनार्दन शर्माप्रतिसमेत कटाक्ष गरेका छन् ।
पोखरेलले लेखेका छन्, ‘लोडसेडिङ विरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले । जसको योजना उसैलाई श्रेयदिने कहिले ?’
२०७३ सालको कात्तिक देखि नेपालमा औपचारिक रुपमा लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको हो। त्यतिबेला घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक थिए ।
यो कामको जस तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले लिने गरेका छन्। सामाजिक सञ्जालमा भने घिसिङ लाई उज्यालो नेपालका अभियन्ता भनेर प्रचार गरिएको थियो। तर उज्यालो नेपालका अभियानकर्ता र कार्यन्वयनकर्ता ओली नै भएको महासचिव पोखरेलको दाबी छ।

