काठमाडौं : नेपाल जेन–जी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।
फ्रन्टले सोमबार बिहान विज्ञप्ति जारी गरि आदर्शको बर्खास्तगीसहित सरकारसमक्ष पाँच बुँदे माग राखेको छ।
श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नै पत्नी र नातेदारहरू नियुक्ति गरेको समाचार बाहिरिएपछि फ्रन्टले आपत्ति जनाउँदै ती सबैलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेको हो ।
साथै, सरकारका सबै नियुक्ति सार्वजनिक गर्न र पारदर्शी बनाउन पनि जेनजी फ्रन्टले माग गरेको छ ।
‘प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा आफ्नै श्रीमतीसहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको भनी सार्वजनिक भएको समाचारप्रति नेपाल जेन-जी फ्रन्टको गम्भीर ध्यानाकर्षण भएको छ। राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरुपयोग मात्र नभई सुशासन, नैतिकता, जवाफदेहिता र पारदर्शीताविरुद्धको प्रत्यक्ष प्रहार हो’, विज्ञप्तिमा भनिएको छ, ‘जेन–जी विद्रोह नेपाली समाज र राजनीतिमा वर्षौंदेखि जरा गाडेका यी र यस्तै विकृतिविरुद्धको विद्रोह रहेको र यस प्रकरणले फेरि एकपटक राज्य संयन्त्रभित्रको विकृत अभ्यास उजागर गरेकाले नेपाल जेन–जी फ्रन्ट यस प्रकारका गतिविधिको घोर भर्त्सना गर्दछ।’
यस्ता छन् जेनजी फ्रन्टका मागहरू
१) प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको तत्काल बर्खास्ती।
२) निज श्रेष्ठले अनैतिक नियुक्ति दिलाएका परिवारका सदस्य र नातेदार सबैको नियुक्ति तत्काल खारेजी।
३) सुशासन र जवाफदेहीताको नाराका बलमा बनेको सरकारमा पुनः नातावाद र कृपावादमा आधारित नियुक्ति कसरी सम्भव भयो ? प्रधानमन्त्री कार्यालयका तर्फबाट तत्काल स्पष्टीकरणसहित सत्यतथ्य जानकारी।
४) प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवालयभित्र हुने नियुक्ति, दरबन्दी र भूमिकालाई अब उपरान्त पूर्ण पारदर्शी र मापदण्डमा आधारित बनाउने स्पष्ट नीति निर्माण र कार्यान्वयन।
५) प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवालयमा को को कुन कुन पदमा कार्यरत छन् ? सोको सम्पूर्ण विवरण सार्वजनिक रूपमा सूचना पाटी र वेबसाइटमा समेत राख्नुपर्ने कानुनी व्यवस्था गरी त्यसको कार्यान्वयन।
विज्ञप्तिमा भनिएको छ, ‘जेन–जी विद्रोहको म्यान्डेट नातावाद, कृपावाद, स्वेच्छाचारिता र मनपरी होइन, न्यायोचित प्रक्रिया र पारदर्शिता हो। यसको प्रतिकूल हुने गरी राज्य संयन्त्रमा देखिएका यस्ता विकृतिका विरुद्ध नेपाल जेन-जी फ्रन्ट निरन्तर सतर्क, मुखर र संगठित भएर उभिनेछ।’


