काठमाडौं । शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण बिपी राजमार्गका विभिन्न स्थानमा लेदोसहितको पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभन्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारी साधन रोकेको छ ।
यात्री र सवारी साधनको सुरक्षालाई दृष्टिगत गर्दै ती स्थानबाट अगाडि जाने अनुमति नदिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुनिल धाँजुले जानकारी र्दिए।
यता, अरनिको राजमार्ग पनि अवरुद्ध भएपछि दुवैतर्फी सवारी साधन अनिश्चित समयसम्मका लागि होल्ड गरिएको हो ।
अविरल वर्षाका कारण शनिबार बिहानदेखि देशका प्रमुख राजमार्गहरूमा सवारी साधन होल्ड गरिएको छ ।
काठमाडौं–नागढुङ्गा खण्डमा बिहान ७ बजेदेखि दुबै तर्फका सवारी साधन रोकिएका छन् ।
चन्द्रागिरिबाट नागढुङ्गा, गोदाम र टखेल हुँदै धादिङ र मकवानपुरतर्फ बाहिरिने सवारी साधनलाई अर्को आदेश नभएसम्म आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन् भने सम्बन्धित निकायहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

