काठमाडौँ : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडामा केही बेर अघि सुरु भएको हो ।
आज(बुधबार)को स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गर्नेछ । केन्द्रीय समिति बैठक यही बिहीबारदेखि सुरु हुँदैछ । त्यसका लागि आजको स्थायी कमिटी बैठक निर्णायक रूपमा महत्त्वपूर्ण रहेको माओवादीले जनाएको छ ।
अध्यक्ष प्रचण्डले आइतबार बसेको पार्टी पदाधिकारी बैठकमा मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए । उनले हालको केन्द्रीय समिति भङ्ग गरेर त्यसलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने प्रस्ताव गरेका छन्।
केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्दै अध्यक्ष प्रचण्ड संयोजक थिए। पदाधिकारीसहित केन्द्रीय समिति सदस्य महाधिवेशन आयोजक समिति सदस्यमा रूपान्तरित गर्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो।
आजको स्थायी कमिटी बैठकले यही निर्णयलाई केन्द्रीय समिति बैठकको एजेन्डा बनाउने तयारी गरेको छ ।

