भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालमा राजतन्त्र पुनःस्थापनाको प्रयास खतरनाक हुने बताएका छन्। भक्तपुरमा आज (मंगलबार) आयोजित एक कार्यक्रममा उनले अहिलेको अवस्थामा राजतन्त्र ल्याउनु नहुने स्पष्ट पारे।
अध्यक्ष बिजुक्छेले संवैधानिक राजतन्त्र अस्वीकार गर्दा नै पूर्वराजा ज्ञानेन्द्र शाह सत्ताबाट हटेको स्मरण गराउँदै भारत वा अमेरिकाले राजतन्त्र फर्काउने प्रयास गरे युद्ध अपरिहार्य हुने चेतावनी दिए।
“यदि राजतन्त्र फर्काउने हो भने बन्दुक बाहेक विकल्प हुँदैन, र फेरि त्यसको विरोधमा लडाइँ हुन्छ,” उनले भने। अध्यक्ष बिजुक्छेले वर्तमान राजाले जनविरोधका कारण गुमाएको हैसियत फेरी प्राप्त गर्न सक्दैन भन्ने टिप्पणी पनि गरे।
साथै, उनले वर्तमान राजनीतिक दलहरू कार्यकर्तालाई पैसा र जग्गा बाँड्नमै सीमित रहेको आरोप लगाउँदै यस्तो प्रवृत्तिले राजनीतिमा नै विकृति ल्याएको बताए।

