हुम्लाको तिलगाउँ पहिरो: सांसदद्वारा राहत र उद्धारमा चाँडो पहल गर्न सरकारलाई आग्रह

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा गएको लेदोसहितको पहिरोबाट प्रभावितलाई राहत तथा उद्धारमा चाँडो पहल गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा विभिन्न सांसदहरूले पीडितलाई अझै उद्धार नगरिएको र राहतमा ढिलाइ भएको भन्दै चासो व्यक्त गरे।

राप्रपा सांसद ज्ञानबहादुर शाहीले सरकारलाई तीव्र आलोचना गर्दै भने, “पहिरो गएको पाँच दिन भइसक्दा पनि उद्धार भएको छैन। मन्त्रीहरू हेलिकप्टरमा अरू बेला हिँड्न सक्छन्, तर जनताको दुःखमा भने किन प्रयोग हुँदैन?” उनले कर्णाली क्षेत्रलाई हेपिएको भन्दै कडा विरोधसमेत जनाए।

त्यसैगरी सांसद सूर्यकुमारी श्रेष्ठले पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउन आग्रह गरिन्। सांसद डा. स्वर्णिम वाग्लेले भने तनहुँमा निर्माणाधीन दोस्रो जलाशययुक्त जलविद्युत् आयोजना ढिलाइ नगरी अघि बढाउनुपर्ने धारणा राखे।

सांसद सीताकुमारी रानाले आगामी तीन दिनसम्म सम्भावित वर्षाका कारण थप क्षति हुन सक्ने भन्दै प्रभावकारी पूर्व सूचना प्रणालीको माग गरिन्। सांसद सीता मिजारले सरकारी प्रणालीको विद्युतीकरण आवश्यक रहेको बताइन्।

सांसदहरू सुनिता बराल, सुमना श्रेष्ठ, सुशीला सिर्पाली ठकुरी, सुशीला श्रेष्ठ, सुहाङ नेम्वाङ, सूर्यप्रसाद ढकाल, सूर्यबहादुर थापा, हर्कमाया विश्वकर्मा, हरि ढकाल, हेमराज राई, र ज्ञानु बस्नेत सुवेदीले पनि आ–आफ्नो क्षेत्रका समस्या उजागर गर्दै तत्कालीन समाधानको माग गरे।

विशेषगरी पहिरोको घटनालाई लिएर सांसदहरूले सरकारको उदासीनता प्रति गम्भीर आपत्ति जनाएका थिए। सरकारलाई उद्धार र राहत कार्यमा कुनै ढिलाइ नगर्न र आगामी विपद्का सम्भावित घटनालाई ध्यानमा राख्दै तयारी अवस्थामा रहन समेत उनीहरूले सुझाव दिएका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा