पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा विमानस्थलमा भीड, यात्रुहरूलाई सास्ती

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजावादीहरूको ठूलो भीड जम्मा हुँदा यात्रुहरूलाई सास्ती भएको छ। हजारौंको संख्यामा आएका समर्थकहरूका कारण ट्राफिक व्यवस्थापन प्रभावित भएको छ।

कोटेश्वर, तीनकुने, विमानस्थल, गौशाला र चाबहिल क्षेत्रमा ट्राफिक अस्तव्यस्त बनेपछि यात्रुहरूले समस्या भोग्नु परेको छ। सुरक्षा व्यवस्थाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। पूर्वराजा शाह पोखरालगायत पश्चिम क्षेत्रको भ्रमणपछि आइतबार काठमाडौं फर्किन लागेका हुन्।

राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा राप्रपाको एउटा समूह जुलुससहित विमानस्थल बाहिर पुग्दैछ। हालै प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजाले दिएको सन्देशपछि राजावादी समूहहरू उत्साहित भएका छन्। त्यसपछि राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईंलगायतका राजावादी संगठनहरूले काठमाडौंमा स्वागत कार्यक्रम आयोजना गरेका हुन्।

सुरक्षा स्रोतका अनुसार पूर्वराजा शाह अपरान्ह ३:३० बजे पोखराबाट काठमाडौंका लागि उड्ने तयारीमा छन्, भने उनका समर्थकहरू दिउँसो १ बजेदेखि नै विमानस्थलबाहिर भेला हुन थालेका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा