सांसदहरूको सरकारलाई ध्यानाकर्षण: राजतन्त्र पक्षधर नाराजुलुसदेखि हवाई सुरक्षासम्मका विषय उठाए

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले राजतन्त्र पक्षधर नाराजुलुस, दलितमाथिको विभेद, शिक्षक आन्दोलन, हवाई सुरक्षा लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

शून्य समयमा नेकपा (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहोराले काठमाडौं लगायत केही शहरमा भइरहेका नाराजुलुसप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्रमाथि प्रहार भएको बताए। उनले सुशासन प्रवद्र्धन, महँगी नियन्त्रण, र बेथितिको अन्त्यका लागि सरकार दृढतापूर्वक लाग्नुपर्नेमा जोड दिए।

त्यसैगरी, सोही पार्टीकी सांसद गोमादेवी तिमल्सिनाले उदयपुर सिमेन्ट उद्योग लामो समयदेखि नेतृत्वविहीन रहेको र कर्मचारीहरूले महिनौँदेखि तलब नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दलित समुदायमाथि बढ्दै गएको विभेद रोक्न दोषीलाई कानुनी कारबाही गर्न माग गरे। उनले पीडितलाई उचित क्षतिपूर्ति दिन सरकारलाई आग्रह गरे।

सांसद मदनकुमारी शाहले महिलालाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै समृद्ध नेपाल निर्माणका लागि सबैको सक्रियता आवश्यक रहेको बताइन्। सांसद राजेन्द्रलक्ष्मी गैरेले सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनरत रहेको उल्लेख गर्दै सरकारसँग विगतका सम्झौता कार्यान्वयन गर्न माग गरे।

नेपाली कांग्रेसकी सांसद दुर्गाकुमारी गुरुङले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दाहरू जंगली जनावरको त्रासमा रहेको बताउँदै तारजालीको व्यवस्था गर्न सरकारलाई आग्रह गरिन्। कांग्रेसकै सांसद नारायणदत्त मिश्रले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन वार्तामार्फत् समाधान गर्न सरकारलाई अनुरोध गरे। साथै, उनले महिलाको हक अधिकार संरक्षणका लागि सरोकारवालालाई गम्भीर हुन आग्रह गरे।

सांसद युवराज शर्माले संविधानको रक्षा र सुशासन प्रवद्र्धनका लागि राजनीतिक दलहरूबीच अधिकतम सहमति आवश्यक रहेको बताए।

माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले विभिन्न घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै उचित कदम चाल्न आग्रह गरे। सोही पार्टीका सांसद सुरेश आले मगरले महिला मुक्ति आन्दोलनका लागि अझै संघर्ष आवश्यक रहेको बताए। उनले बागबजारदेखि मैतिदेवीसम्मको सडक दुईतर्फी बनाउन सरकारलाई अनुरोध गरे।

जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाङ्ग्रा बिना अवतरण गर्नुपरेको घटनाले हवाई सुरक्षामा गम्भीर प्रश्न उठाएको बताए। उनले यस्ता घटनाले पर्यटन क्षेत्रलाई समेत असर पार्ने भन्दै भविष्यमा दोहोरिन नदिन सरोकारवालालाई जिम्मेवार बन्न आग्रह गरे।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा