काठमाडौं : सैनिक मञ्च टुँडिखेलमा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइएको छ। संयुक्त राष्ट्रसंघले औपचारिक मान्यता दिएपछि विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो।
समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले नेपालको प्रस्तावमा राष्ट्रसङ्घको महासभाले अप्रिल १५ तारिखलाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो ।
प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलले सन् २०२७ लाई ‘नेपाल आरोग्य वर्ष’ घोषणा गरेका छन् ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले आरोग्यलाई समग्र मानव जीवनसँग जोड्दै यसलाई विश्वव्यापी प्राथमिकताका रूपमा स्थापित गर्नुपर्ने बताए। उनले आरोग्यलाई केवल रोगको अभाव नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, आध्यात्मिक तथा वातावरणीय सन्तुलनको समग्र अवस्थाका रूपमा व्याख्या गरे।
_qT7Hxzx3tw.jpg)
सभामुख अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै प्राकृतिक सम्पदा, हिमाल, संस्कृति र आध्यात्मिक परम्पराले नेपाललाई विशेष बनाएको बताए।
त्यसैगरी मन्त्री पौडेलले आरोग्यलाई जीवनशैलीसँग जोड्नुपर्नेमा जोड दिँदै नेपालले विश्वलाई शान्ति र आत्मिक सन्तुलनको मार्ग देखाउन सक्ने बताए। विश्व स्वास्थ्य संगठनको तथ्यांक उद्धृत गर्दै उनले विश्वमा एक अर्बभन्दा बढी मानिस मानसिक तनावबाट प्रभावित रहेको उल्लेख गरे।
कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ एलपी भानु शर्माले आरोग्य प्रवर्द्धनका लागि दीर्घकालीन संरचना आवश्यक रहेको बताए। उनले आरोग्य पर्यटनलाई व्यवस्थित बनाउन उच्चस्तरीय आयोग गठन, ‘वेलनेस सर्किट’ निर्माण, वेलनेस भिसा तथा दीर्घकालीन बसाइ नीतिको आवश्यकता औंल्याए।
समारोहको सुरुवात बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्माद्वारा मन्त्रउच्चारणबाट गरिएको थियो।

