शेखरसँग कांग्रेस संस्थापन पक्षीय नेताको आग्रह : पुसभित्र नियमित महाधिवेशन गर्न पहलकदमी लिइदिनुहोस्

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुस मसान्तभित्र कांग्रेसको नियमित महाधवेशन हुनुपर्नेमा जोड दिएका छन् ।

आफूसँग भेट गर्न आएका कांग्रेस संस्थापन पक्षीय नेताहरूसँग कोइरालाले सो कुरा बताएका हुन् ।

कोइरालालाई भेट्न कांग्रेसको संस्थापन पक्षका २४ जना केन्द्रीय सदस्य विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालय पुगेका थिए ।

आइतबार बिहान कोइरालाललाई भेट गरेर नेताहरूले आफ्ना मागमा समर्थन गरिदिन कोइरालालाई आग्रह गरेका हुन् ।

संस्थापन पक्षीय यी केन्द्रीय सदस्यहरूले केही दिनअघि पार्टी केन्द्रीय कार्यालयमा ७ बुँदे माग दर्ता गराएका थिए । ती माघमा पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया यही मंसिर मसान्तमा सुरु गरेर सकभर पुस मसान्तभित्र सक्नुपर्ने बताउँदै आएका छन् ।

२४ केन्द्रीय सदस्यहरूले आफ्ना माग पूरा गराउन यसअघि सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका पदाधिकारीलाई भेटिसकेका छन् ।

डा मिनेन्द्र रिजाल, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार केन्द्रीय सदस्यहरू सञ्जय गौतम, डा गोविन्दराज पोखरेलसहितका नेताहरूसँग उनीहरूले नियमित महाधिवेशनको प्रक्रिया मंसिरमा नै सुरु गरेर सकभर पुस मसान्तसम्म महाधिवेशन सम्पन्न गर्नुपर्ने आफूहरूको मागमा समर्थन जनाउन आग्रह गरेको भेटमा सहभागी केन्द्रीय सदस्य आङगेलु शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार उनीहरूले नियमित महाधिवेशन समयमै सम्पन्न गर्न पहलकदमी लिन डा. कोइरालालाई आग्रह गरेका थिए ।

भेटमा डा. कोइरालाले शनिबारको केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनका सन्दर्भमा किन निर्णय गरेन त्यसबारे आफूलाई जानकारी नभएको बताएका थिए ।

कांग्रेसमा महाधिवेशन फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्नेमा विवाद छ । महामन्त्री थापाले केन्द्रीय कार्यसमिति बैठकमा पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् । थापाको प्रस्तावलाई इतर समूहले र यादवको प्रस्तावलाई संस्थापनले समर्थन गरेपछि कांग्रेसमा महाधिवेशनको विषय पेचिलो बनिरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा