प्रचण्डको टिप्पणी : “बाबुराम सबैभन्दा बुद्धि नभएको डाक्टर”

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईप्रति कटाक्ष गर्दै उनलाई “सबैभन्दा बुद्धि नभएको डाक्टर” भनेका छन् ।

रूकुम पश्चिममा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले पूर्व सहयात्री बाबुरामसँग पार्टी एकता असम्भव रहेको बताएका छन् । “सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले । त्यस्तासँग के गरी एकता गर्ने ?” उनले भने ।

उनले अघिल्लो निर्वाचनमा बाबुरामसहित पार्टी एकता गर्ने उद्देश्यले गोरखाबाट उम्मेदवारी दिएको स्मरण गरे पनि, बाबुरामले कम्युनिष्ट नाममा आपत्ति जनाउँदै एकताबाट पछि हटेको आरोप लगाए ।

“कम्युनिष्ट पार्टीको नाम राख्ने हो भने म एकता गर्दिनँ भनेपछि के गर्ने ? बाबुरामका लागि मर्ने ?” प्रचण्डको भनाइ थियो ।

प्रचण्डले बाबुराम खिइँदै खिइँदै गएका र अन्ततः प्रतिक्रियावादी शक्तिसँग मिलेको आरोप पनि लगाए । “अब त पूरै प्रतिक्रियावादीसँग मिल्नु भएको छ । प्रतिक्रियावादीले पनि पत्याउँदैनन् आजभोलि । हाँसोको पात्र भएका छन् बाबुराम देशभरि,” उनले टिप्पणी गरे ।

साथै, बाबुरामसँग रहेका नेताहरू पुनः माओवादी केन्द्रमै फर्किने दाबी समेत प्रचण्डले गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा