काठमाडौं । गभर्नर नियुक्तिको विषयलाई लिएर सत्तारूढ नेपाली कांग्रेस र एमालेबीच बढ्दो विवादका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ५ बजे बैठक तय गरिएको एक मन्त्रीले जानकारी दिएका छन्।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज भएको छलफलपछि मन्त्रिपरिषद् बैठक आह्वान गरिएको हो। यसअघि सोमबार देउवाले प्रधानमन्त्रीको बोलावट स्वीकार नगरेपछि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको थियो।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया लामो समयदेखि राजनीतिक तानातानको चपेटामा परेको छ। सत्तारूढ दुई दलका शीर्ष नेताबीच विश्वासको खाडल अझै गहिरिएको छ। गभर्नर नियुक्तिको भनिएको सोमबारको बैठक अन्तिम समयमा स्थगित भएपछि कांग्रेस सभापति देउवा असन्तुष्ट भएका थिए।
गभर्नर सिफारिस समिति चैत ११ मा गठन भए पनि अहिलेसम्म एक पटक पनि बैठक बस्न सकेको छैन। बरु दुईपटक पुनर्गठन भइसकेको समितिबाट हाल योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलको नाम प्रस्ताव गरिएको थियो। कांग्रेसले सोमबारसम्म सिफारिस र नियुक्तिको प्रक्रिया टुंग्याउने विश्वास राखेको थियो।
तर, साँझ ६ बजेको मन्त्रिपरिषद् बैठकभन्दा अघि प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटार डाकेर फेरि गभर्नर नियुक्तिको विषयमा छलफल गरेका थिए। यो राजनीतिक द्वन्द्वका बीच आजको बैठकले गभर्नर नियुक्तिबारे अन्तिम निर्णय गर्ने सम्भावना रहेको छ।

