काठमाडौं, चैत २६ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक पटक फुट भएको भन्दैमा कम्युनिष्ट एकता असम्भव हुने धारणा गलत भएको बताएका छन्।
मंगलबार प्रगतिशील लेखक संघको १३औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ समितिलाई शुभकामना दिँदै उनले मार्क्सवादी सोचमा विभाजनपछि पनि एकताको सम्भावना रहने उल्लेख गरे।
‘विभाजन भएको छ भनेर अब एकता हुनै सक्दैन भन्नु मार्क्सवादी सोच होइन,’ प्रचण्डले भने, ‘त्यो द्वन्द्वात्मक भौतिकवादको भावना होइन।’
उनले अतीतमा भएका एकता प्रयासहरूबाट शिक्षा लिन जरुरी रहेको बताए। दुई प्रभावशाली कम्युनिष्ट पार्टीबीच अघिल्लो एकता सफल जस्तो देखिए पनि त्यसलाई कायम राख्न नसकिएकोमा उनले दुःख व्यक्त गरे।
वामपन्थी एकताको महत्वमा जोड दिँदै उनले भने, ‘हामीले आलोचना पनि गर्यौं, विभाजन पनि भयो, तर एकताको झण्डा कहिल्यै छाडेका छैनौं।’
उनका अनुसार, अन्ततः सबै वामपन्थी शक्तिहरू एक ठाउँमा आएर अघि बढ्नुपर्ने आवश्यकता अझै रहेको छ।

