काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मंगलबार बिहान सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो सांसद पद निलम्बन फुकुवा गर्न आग्रह गरेका छन्।
यसअघि माघ १८ गते पनि सभामुखलाई भेटेर उनले सोही अनुरोध गरेका थिए। लामिछाने गत पुस ८ गते निलम्बनमा परेका थिए।
मंगलबार लामिछाने रास्वपाका सांसदहरूको टोली लिएर सभामुख घिमिरेलाई भेट्न पुगेका थिए। सभामुख घिमिरेले भने कानुनी आधारमा लामिछाने निलम्बन भएको स्पष्ट पार्दै आफूले केवल सूचना जारी गरेको बताए। सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार घिमिरेले लामिछाने वा रास्वपाप्रति कुनै पूर्वाग्रह नरहेको बताएका छन्।
गत कात्तिक २ गते पक्राउ परेका लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि पुस ८ गते उनको सांसद पद निलम्बन गरिएको थियो। संसद् सचिवालयले कास्की जिल्ला प्रहरी कार्यालयको पत्रका आधारमा निलम्बनको सूचना जारी गरेको हो। तर, रास्वपा नेताहरूले उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै सभामुखले विवेक प्रयोग नगरेको दाबी गर्दै आएका छन्।

