प्रतिनिधिसभा बैठक आज बस्दै, घिसिङ प्रकरणमा सत्ता–प्रतिपक्ष आमनेसामने

काठमाडौं – प्रतिनिधिसभा बैठक आज (शुक्रबार) बिहान ११ बजे बस्ने तयारी गरिएको छ। संघीय संसद सचिवालयका अनुसार बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ।

आजको बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्। साथै, ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबल गरिने कार्यसूचीमा उल्लेख छ।

संसद सचिवालयका अनुसार पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन्। उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खडकाले ‘नवीकरणीय उर्जा तथा उर्जा दक्षता विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने छन्।

यसअघि, बुधबार बस्ने तय भएको बैठक सरकारको निर्णयविरुद्धको अवरोधका कारण दुई दिनदेखि स्थगित हुँदै आएको थियो। सरकारको निर्णयअनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएपछि विपक्षी दलले त्यसको विरोध गर्दै बैठक अवरुद्ध गर्दै आएको छ।

सत्ता र प्रतिपक्षबीच घिसिङ प्रकरणलाई लिएर विवाद जारी छ। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनुपर्ने माग गरिरहेका छन्। तर, प्रधानमन्त्री ओलीले भने सरकारको प्रशासनिक निर्णय संसदमा छलफलको विषय नबन्ने बताउँदै संसदमा जवाफ नदिने अडान लिएका छन्। यसै कारण संसद सञ्चालनमा अन्योल कायमै रहेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा