काठमाडौं – आईसीसी एकदिवसीय विश्व कप छनाेटमा नेपालले आज (मङ्गलवार) अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिकाबीचकाे खेल नेपाली समयअनुसार दिउँसाे पाैने १ बजे हरारेकाे टाकासिंगा स्पाेर्ट्स क्लबमा हुनेछ ।
नेपाल र अमेरिकाबीच अहिलेसम्म ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल भएको छ । जसमा नेपाल तीन खेलमा विजयी, दुई खेलमा पराजित र एक खेलमा बराबरी भएकाे छ ।
आईसीसी विश्व कप लिग–२ अन्तर्गत सन् २०२० मा घरेलु मैदानमा भएकाे दुवै खेलमा नेपालले अमेरिकालाई हराएकाे थियाे । नेपाल पहिलाे खेलमा ३५ रन र दाेस्राे खेलमा ८ विकेटले विजयी भएकाे थियाे ।
यस्तै सन् २०२१ मा ओमानमा नेपाल र अमेरिकाबीच दुई वटा खेल भएकाे थियाे । जसमा नेपाल र अमेरिकाले १/१ वटा खेल जितेका थिए । पहिलाे खेलमा नेपाल ५ विकेटले विजयी भएकाे थियाे भने दाेस्राे खेलमा अमेरिका ६ विकेटले विजयी भएकाे थियाे ।
यस्तै सन् २०२२ मा अमेरिकामा नेपाल र घरेलु टाेलीबीच दुई वटा खेल भएकाे थियाे । पहिलाे खेल बराबरीमा सकिएकाेमा दाेस्राे खेलमा अमेरिका ३९ रनले विजयी भएकाे थियाे ।

