काठमाडौं – सरकारले परियोजना धितो राखेर नवप्रवर्तन अर्थात् स्टार्टअप व्यवसायलाई अधिकतम २५ लाख रुपैयाँसम्म ऋण दिने गरी कार्यान्वयन प्रकृया थालेको छ । उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।
स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि–२०७९ अनुसार मापदण्ड पूरा गरेका तोकिएका क्षेत्रका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका सहुलियत कर्जा लिन इच्छुक उद्यमीका लागि विभागले आज सूचना निकालेर २१ दिनभित्र परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको हो । यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर तीन प्रतिशत सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने गरी ‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि’ पारित गरेको थियो ।
नवप्रवर्द्धन र सिर्जनशील व्यावसायिक सोचलाई कार्यान्वयन गर्न स्टार्टअप उद्यम व्यवसायमार्फत् रोजगारी सिर्जना गरी वस्तु तथा सेवाको उत्पादन एवम् उत्पादकत्व अभिवृद्धि गरी नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने मुख्य लक्ष्यसहित कार्यविधि कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ । यो कार्यक्रम कार्यान्वयन गर्न सरकारले चालुआर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट पनि छुट्याएको छ ।

