बालेन बने काठमाडौंको मेयर, भन्छन “संसारकै सुन्दर शहर बनाउँछौं”

काठमाडौं – मतदातालाई धन्यवाद दिंदै काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन साहले अबका पाँच वर्षमा काठमाडौंलाई संसारकै सुन्दर शहर बनाउने प्रतिवद्धता जनाएका छन् ।

धन्यवाद र्‍याली शुरु हुनुअघि राष्ट्रिय सभागृहमा बालेनले काठमाडौंलाई संसारकै नमूना शहरका रूपमा विकास गर्ने बाचा गरे । यसका लागि सम्बन्धित सबै पक्षसँग प्रभावकारी समन्वय गर्ने बालेनको भनाइ छ । उनले काठमाडौं महानगरपालिकाको मेयरमै प्रतिस्पर्धा गरेका सुमन सायमी छेउमै थिए । उनीहरू एउटै गाडीमा चढेर धन्यवाद र्‍यालीमा सहभागी थिए ।

नव निर्वाचित मेयर बालेनले भने, ‘शुरुवातको रूपमा लिएका छौं । यो हाम्रो विजय मात्र नभएर कार्यको शुरुवात हो । अबको ५ वर्षमा कार्ययोजनालाई सम्पन्न गर्नेछौँ । काठमाडौंलाई परिवारको रूपमा लिएका छौं । विश्वकै सुन्दर शहर बनाउनका लागि सहकार्य गर्नेछौं ।’

काठमाडौं महानगरपालिकामा भौतिक पूर्वाधार निर्माणको योजनासँगै यहाँ सडकका खाल्डाखुल्डी पनि तत्काल पुर्ने काम शुरुआती चरणमा गर्ने उनको योजना छ । यसअघि जडान भएको सिसीटिभीलाई मर्मत सम्भार गर्दै शहरी सुरक्षाको लागि तत्काल १० हजार सिसीटिभी जडान गर्नु पनि उनको सुआती कामभित्र पर्नेछ ।

बालेनले सरसफाइ, खानेपानी, यातायात साधनलाई वैज्ञानिकरूपमा सञ्चालन गर्ने, फोहरको दीर्घकालीन समाधान, अव्यवस्थितरूपमा सहरलाई कुरुप पार्ने गरी यत्रतत्र छरिएको तारको व्यवस्थापन, सार्वजनिक शौचालयमा नागरिकलाई सहजताजस्ता मुद्दामा काम गर्ने बताए ।

३२ वर्षीय बालेनले नेपाली कांग्रेसकी सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै संघीय राजधानी काठमाडौँको महानगर प्रमुख पद जितेका हुन् । उनले ६१ हजार ७६७ मत पाए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा