काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा सत्तापक्षले बुथ कब्जा गर्दा प्रहरी निरीह भएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा ओलीले यस्तो आरोप लगाएका हुन् ।
अध्यक्ष ओलीले स्थानीय तह निर्वाचन सम्पन्न भएको १४ दिनपछि पनि परिणाम किन आइसकेको छैन ? भन्दै प्रश्न गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले निर्वाचन निष्पक्ष हुन नसकेको बताए ।
‘आज १४ दिनपछि किन परिणाम आइरहेको छैन ? किन परिणाम आइसकेको छैन ? निर्वाचन स्वच्छ हुन सकेन । निष्पक्ष हुन सकेन’, ओलीले भने ।
उनले सत्ता गठबन्धनले प्रतिपक्षलाई सिध्याउन खोजेको आरोप लगाए । उमेदवारलाई धम्क्याउने, उनीहरूको घरमा बम विस्फोट गराउनेलगायत काम भएको बताए । उनले शान्तिपूर्ण र स्वतन्त्र रूपमा निर्वाचन हुन नसकेको बताए । सत्तापक्ष आफैले निर्वाचन शान्तिपूर्ण हुन नदिएको उनको भनाइ छ ।
