काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले मान्नु पर्ने बताएका छन् । आज (सोमबार) आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसिभाबाट एमसीसी र व्याख्यात्मक घोषणा एउटै प्रस्तावमा पारित भएको बताए ।
‘नेपालको सार्वभौम प्रतिनिधिसभाले त्यो सम्झौता र यो घोषणा एकै पटक पास गरेको छ । दुईवटा अलग-अलग प्रस्ताव बनाएर होइन, यो अभिन्न अङ्ग बनिसक्यो’, प्रचण्डले भने ।
अमेरिकाले व्याख्यात्मक टिप्पणी स्वीकार नगरे एमसीसी खारेज हुने उनको भनाइ छ । ‘अर्को पक्षले पनि स्वीकार गर्छ, गर्नैपर्छ त्यो कन्भेन्सन अनुसार गरेन भने एमसीसी खारेज हुन्छ । हिजो अर्थमन्त्रीले बोलिसक्नु भयो’, उनले भने ।
