स्वतन्त्र र निष्पक्ष चुनाव दिगो लोकतन्त्रको पहिचान हो – अमेरिकी राजदूत

काठमाडौं –  नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वतन्त्र र निष्पक्ष चुनाव दिगो लोकतन्त्रको पहिचान भएको बताएका छन् ।

स्थानीय तहको आउँदो चुनावका लागि नेपाल मतदाता अधिकार मञ्चद्वारा काठमाण्डौमा आज मङ्गलवार आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले चुनावका समयमा आउन सक्ने भ्रामक सूचना र मिथ्या दुष्प्रचारबाट जोगिन सबैलाई सचेत र सजग हुन सुझाव दिए ।

चुनावसँग सम्बन्धित भ्रामक र मिथ्या सूचनाको पहिचान र रोकथाम गर्न समाजका सबै पक्ष सचेत र सजग हुन आवश्यक रहेको बताउँदै उनले यस्ता दुष्प्रचारले अनलाइनलगायत सामाजिक सञ्जाललाई विचलन ल्याउने मात्र नभइ चुनाव र लोकतन्त्रलाई हानी पुर्‍याउने धारणा व्यक्त गरे ।

राजदूत बेरीले भने, ‘भ्रामक सूचना र दुष्प्रचारले नेपाललाई प्राप्त हुने वास्तविक प्रतिफलको क्षमतामा समेतमा असर पार्छ, कोभिड-१९ खोपबारे मिथ्या सूचनाका कारण अमेरिकालगायतका देशले ठूलो क्षति बेहोर्न पर्‍यो । धेरै मानिसको अकालमा ज्यान गयो ।’

भ्रामक र गलत सूचनाका सन्दर्भमा नेपालको अनलाइनको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै राजदूत बेरीले भने, ‘गलत सूचनाले मतदाताको सुसूचित गर्ने राजनीतिक क्षमतालाई समेत कमजोर तुल्याउँछ ।’ चुनावका समयमा सूचनाको आधिकारिकताबारे विश्वासिलो पुष्टि नभएसम्म अरूलाई शेयर नगर्न उनले सुझाव दिए ।

उनले अरू कैयौं देशले शताब्दीमा गर्न नसकेको राजनीतिक रूपान्तरण नेपालले छोटो समयमै हासिल गर्न सफल भएको उल्लेख गरे । आयोजक संस्थाका अध्यक्ष भक्त विश्वकर्माले यो प्रशिक्षक प्रशिक्षणमा देशका सातै प्रदेशका १८ देखि ३० वर्ष उम्मेर समूहका समावेशी आधारमा छनोट गरिएका प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा