म्याग्दी – हिजो रातिदेखि परेको अविरल वर्षाका कारण म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा एक घर भत्किएको छ ।
रत्नेचौरको सालघारी बस्ने भीमबहादुर थापाको दुईतले घरमा पानी चुहिएर गाह्रो भत्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गाह्रो भत्किएर घरमा बस्न नमिल्ने भएपछि थापाको परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।
वर्षाकै कारण सडकभन्दा माथिबाट पहिरो खसेर हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड बन्द भएको छ ।

सडक खण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगखोला, ३ नम्बर वडा राहुघाट र अन्नपूर्ण गाउँपालिका-३ दानाको जलथलेमा सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज केसीले बताउनुभयो ।
यसैगरि दानाको रुप्सेखोला र काभ्रेभीरमा सडक माथिबाट खसेको ढुङ्गामाटो र लेदोसहितको पहिरोको अवरोध हटाएर सडक सञ्चालन गरिएको छ भने जलथलेमा पहिरो हटाउने काम भइरहेको दाना प्रहरीचौकीले जनाएको छ ।
त्यस्तै पश्चिम म्याग्दी हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि अवरुद्ध बनेको छ । वर्षाका कारण जिल्लाको बेनी नगरपालिका-४ तातोपानी नजिकै घुमाउने भीरमा पहिरो खसेर बेनी–दरबाङ सडक पूर्ण रुपमा बन्द भएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी–बाग्लुङ खण्डको रत्नेचौरको रानीवन क्षेत्रमा पनि वर्षाले सडक हिलाम्मे भएपछि बन्द भएको छ ।
वर्षाकै कारण बेनी नगरपालिका-३ भकिम्लीको दुधेखोलामा आएको बाढीले कटान गर्दा बेनी–थामडाँडा–बरङ्जा सडक पनि आइतवार रातिदेखि बन्द भएको छ । त्यस सडक खण्डको दुधेखोलामा आइतवार राति बाढी आउँदा एक घर र एक गोठ बगाउनुका साथै एउटा भैँसी समेत बाढीले बगाएको थियो ।

