October 27, 2024, Sunday
KN hd tv

अमेरिकामा डिसेम्बर दोस्रो साताबाट कोभिड-१९ विरूद्धको खोप दिने तयारी

काठमाडौँ- अमेरिकाले आउँदो महिनाबाट आफ्ना नागरिकलाई कोभिड-१९को खोप दिने तयारी गरेको छ ।

अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रम प्रमुख डा. मोन्सेफ स्लावीले डिसेम्बर महिनाको ११ तारिखसम्ममा खोप उपलब्ध हुन सक्ने गरी तयारी भइरहेको जनाएका छन् ।

सीएनएनसँग कुराकानीमा डा.स्लावीले खोप स्वीकृति पाएको ४८ घन्टाभित्र नागरिकलाई खोप उपलब्ध गराउने तयारीका साथ काम भएको जनाएका छन् ।

खोप त्यहाँका राज्यहरूको जनसङ्ख्याको आधारमा वितरण गरिने उनले बताए ।

डा. स्लावीले सुरुमा खोप कसलाई दिने भन्ने निर्णय सम्बन्धित राज्यहरूले गर्ने बताए । तर, स्वास्थ्य कार्यकर्ता र वृद्धवृद्धाजस्ता जोखिम समूहमा पर्नेहरूलाई प्राथमिकता दिइने उनको भनाइ छ।

अमेरिकामा दैनिक कोरोना संक्रमणको वृद्धिसमा नयाँ रेकर्ड कायम भइरहँदा डा. स्लावीको अभिव्यक्तिपछि त्यहाँ केही आशा जागेको जनाइएको छ ।

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा एक करोड २५ लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् ।

दुई लाख ६२ हजार जनाको मृत्यु भइसकेको छ। अमेरिका कोरोना भाइरसले सबैभन्दा धेरै असर गरेको मुलुकको प्रमुख स्थानमा समेत छ ।

अमेरिकी कम्पनी फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले अमेरिकामा आफ्नो खोपलाई आकस्मिक अनुमति दिन शुक्रवार आवेदन दिइसकेका छन्।

दुई पटक लगाइनुपर्ने खोपको परीक्षण ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ।

फाइजरको खोपलाई अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए)ले स्वीकृतिको तयारी पनि गरेको जनाइएको छ ।

त्यसका लागि एफडीएले डिसेम्बर १० तारिखमा खोप सुरक्षित छ या छैन भनेर निर्क्यौल दिने ठानिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको