काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। कर्णाली प्रदेश रङ्गशाला सुर्खेतमा शनिबार बिहान भएको समूह चरणको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशसँग २-२ गोलको बराबरी खेल्दै एपिएफले सेमिफाइनलमा स्थान बनाएको हो।
प्रतियोगितामा टिकिरहन सुदूरपश्चिमलाई यो खेल जित्नैपर्ने दबाब थियो। खेल सुरु भएको सातौँ मिनेटमै श्याम वादीले गोल गर्दै सुदूरपश्चिमलाई सुरुवाती अग्रता दिलाएका थिए। तर एपिएफले खेलमा फर्कन धेरै समय लगाएन। १६औँ मिनेटमा गणेश पुलामीले बराबरी गोल गरे भने २६औँ मिनेटमा अनिश क्षेत्रीले गोल गर्दै एपिएफलाई २-१ ले अगाडि बढाए।
दोस्रो हाफमा खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। खेलको ७२औँ मिनेटमा सुदूरपश्चिमका सन्दीप सिंहले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्याए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बराबरीमै टुङ्गियो।
लगातार दुई खेल खेलेको एपिएफ सेमिफाइनल पुग्न सफल हुँदा सुदूरपश्चिम भने लिग चरणबाटै बाहिरिएको छ। आफ्नो पहिलो खेलमा मधेश प्रदेशसँग पराजित भएको सुदूरपश्चिमले दुई खेलबाट मात्र १ अंक जोड्न सक्यो।


