काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अधानोम घेब्रेयससले भेनेजुएलाको पहिलो आधिकारिक भ्रमण गर्दै त्यहाँको स्वास्थ्य क्षेत्रको पुनरुत्थान र खोप उत्पादनमा सहयोग गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार भेनेजुएला आइपुगेका डा. टेड्रोसले त्यहाँकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
विश्व स्वास्थ्य सङ्गठनको इतिहासमै कुनै पनि महानिर्देशकले भेनेजुएलाको भ्रमण गरेको यो पहिलो अवसर हो। भ्रमणका क्रममा डा. टेड्रोसले सरकारी प्रतिनिधिमण्डलसँगै राजधानी काराकासका अस्पतालहरू तथा खोप उत्पादन कारखानाको स्थलगत अवलोकन गरेका थिए। डब्ल्यूएचओले स्थानीय तहमै खोप तथा अत्यावश्यक औषधि उत्पादन गर्न वैज्ञानिक अनुसन्धान र प्राविधिक सहायता दिने जनाएको छ।
भेनेजुएलाका स्वास्थ्यमन्त्री कार्लोस अल्वाराडोले डब्ल्यूएचओ प्रमुखको भ्रमणले संकटग्रस्त स्वास्थ्य प्रणालीलाई बलियो बनाउन ठूलो ढाडस मिलेको प्रतिक्रिया दिए। प्यान अमेरिकन हेल्थ अर्गेनाइजेसन (पाहो) को समन्वयमा आगामी हप्तादेखि राष्ट्रिय खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै बालबालिका तथा नागरिकका लागि नयाँ खोपहरू वितरण गरिने योजना बनाइएको छ।
यसअघि पदच्युत पूर्वराष्ट्रपति निकोलस मादुरोको शासनकालमा स्वास्थ्य तथ्यांक र नीतिका विषयमा डब्ल्यूएचओसँग लामो समय तनावपूर्ण सम्बन्ध रहेको थियो। तर, वर्तमान अन्तरिम सरकारले अन्तर्राष्ट्रिय समुदाय तथा संयुक्त राष्ट्रसंघीय निकायहरूसँग सम्बन्ध सुधार गर्दै नागरिकको स्वास्थ्य सेवामा व्यापक सुधार ल्याउने प्रयास थालेको छ।


