काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार र राजनीतिक परिस्थितिविरुद्ध जुनसुकै समयमा आन्दोलनको उद्घोष गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्। अखिल नेपाल किसान महासंघको केन्द्रीय बैठकलाई राजधानीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका सम्पूर्ण कमिटी र कार्यकर्तालाई हरबखत आन्दोलनको तयारीमा रहन स्पष्ट निर्देशन दिएका हुन्।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले आन्दोलन लामो योजना बनाएर मात्रै नहुने भन्दै जनताको धैर्यको बाँध फुटेपछि आन्दोलन तत्काल सुरु हुने बताए। उनले विश्वका क्रान्ति र आन्दोलनहरूको सन्दर्भ कोट्याउँदै सत्ता परिवर्तन जनविद्रोह र जनताको चेतनाबाट सम्भव हुने धारणा राखे। उनले मुलुकमा बढ्दो बेथिति, जनजीविकाका संकट र राष्ट्रियतामाथिको चुनौतीका विरुद्ध एमालेले सशक्त प्रतिरोध गर्नुपर्ने बेला आएको औँल्याए।
इतिहासको कठिन मोडहरूमा पनि एमालेले जनहितका पक्षमा संघर्ष गरेको चर्चा गर्दै उनले पञ्चायतदेखि पछिल्ला राजनीतिक संकटहरूसम्म पार्टीले कुनै सम्झौता नगरेको दाबी गरे। मुलुकमा उत्पन्न भइरहेको राजनीतिक अन्योल र जनताको असन्तुष्टिलाई सही दिशा दिन एमाले नै मुख्य शक्ति रहेको बताउँदै उनले नेता–कार्यकर्तालाई जनतासँग प्रत्यक्ष जोडिएर संगठन परिचालन गर्न आग्रह गरे।
निर्वाचन र आन्दोलनबिचको सम्बन्धबारे चर्चा गर्दै ओलीले बलियो संगठन निर्माण गरेर मात्रै आगामी निर्वाचनमा जनताको विश्वास जित्न सकिने स्पष्ट पारे। केन्द्रीय कमिटीको दिशानिर्देश अनुसार संगठन सुदृढ गर्दै कुनै पनि समय आउन सक्ने संघर्षका कार्यक्रमका लागि पूर्ण सतर्कताका साथ एकजुट भएर अगाडि बढ्न उनले सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेका छन्।

