काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत २६ औँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्ससमक्ष जितका लागि १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो।
विराटनगरको इनिङमा स्टार ब्याटर चरिथ असलंकाको विस्फोटक ब्याटिङ मुख्य आकर्षण बन्यो। उनले ४३ बलमा ६ छक्का र १ चौकाको मद्दतमा ६४ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले। उनीसँगै शुभम रन्जानेले २४ बलमा ४ चौका प्रहार गर्दै ३१ रनमा नटआउट रहे। यसअघि ओपनर इमरान शेख २९ बलमा २४ रन बनाएर रिटायर्ड हर्ट भएका थिए भने अर्का ओपनर लोकेश बम १५ रनमा पभेलियन फर्किएका थिए।
विराटनगरले मध्य तथा अन्तिम ओभरहरूमा आक्रामक रन गति कायम राख्दै स्कोरबोर्डलाई तीव्र गति दियो। अन्तिम ओभरहरूमा शेहान जयसूर्याले १ रन र इसुरु उडानाले ६ रन जोड्दा बसिर अहमदले २ बलमा अविजित ६ रन बनाए। सुरुवाती पावरप्लेमा ३८ रन बनाएर १ विकेट गुमाएको विराटनगरले खेलको उत्तरार्धमा रनको गति तीव्र बनाएको थियो।
बलिङतर्फ लुम्बिनी लायन्सका किशोर महतोले किफायती बलिङ गर्दै ४ ओभरमा २४ रन दिएर २ विकेट लिए भने अभिषेक गौतम र रुबेन ट्रम्पलम्यानले १-१ विकेट हात पारे। शीर्ष स्थानमा रहेको लुम्बिनी र प्लेअफ दौडमा रहेको विराटनगरबिचको जारी यो खेल निकै रोमाञ्चक मोडमा छ र लुम्बिनी हाल जवाफी ब्याटिङमा छ।

