काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेट प्रतियोगितामा चितवन राईनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफ प्रवेशको सम्भावना निकै बलियो बनाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो।
चितवनको लक्ष्य पछ्याउने क्रममा डेभिड मलानले कप्तानी इनिङको रूपमा ३९ बलमा १ छक्काको मद्दतले अविजित ३५ रनको महत्त्वपूर्ण योगदान पुर्याए। साथै कुशल मल्लले १५, रवि बोपाराले १३ तथा कामिल मिश्राले १२ रन जोडे। जनकपुरका तर्फबाट बलिङमा राहुल यादवले ३ विकेट लिए भने कप्तान हर्मित सिंहले २ र विशाल शुस्लिङले १ विकेट चट्काएका थिए।
यसअघि टस जितेर सुरुवाती ब्याटिङ थालेको जनकपुर बोल्ट्सले चितवनका घातक बलरहरूसामु संघर्ष गर्दै २० ओभरमा ९ विकेट गुमाएर जम्मा ८८ रन मात्र बनाउन सक्यो। जनकपुरका कप्तान हर्मित सिंहले २५, विशाल शुस्लिङले १५ र सन्तोष कार्कीले १० रन बनाए। चितवनका बलर रन्जित कुमारले अत्यन्तै किफायती बलिङ गर्दै ३ ओभरमा १ मेडनसहित २ रन खर्चेर ३ विकेट लिएका थिए। कप्तान सिकन्दर राजा, कमलसिंह ऐरी र कामिल मिश्राले २–२ विकेट लिए।
उक्त जितसँगै चितवन राईनोज ६ खेलबाट ७ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा पुगेको छ। यता पराजय बेहोरेको जनकपुर बोल्ट्स भने ७ खेलमा ४ अंकमै सीमित भएर लिग चरणबाटै बाहिरिएको छ। चितवनको जितले १ खेल खेल्न बाँकी रहेको कर्णाली याक्स (६ खेलबाट ४ अंक) समेत औपचारिक रूपमा लिग चरणबाटै बाहिरिन पुगेको छ।

