काठमाडौँ । काठमाडौँबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा नयाँ समयसीमा लागू गरिएको छ। मकवानपुरको भीमफेदीमा भएको भयानक दुर्घटनालगायत यस सडक खण्डमा लगातार बढिरहेका दुर्घटना रोक्न जिल्ला प्रशासन कार्यालयले सवारी सञ्चालनमा कडाइ गरेको हो।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अब उक्त रुटमा चल्ने यात्रुवाहक सवारीसाधन बिहान ५ बजेदेखि मात्रै बल्खुबाट छुट्न पाउनेछन्। त्यस्तै, साँझ पर्दा यात्रुबाहक सवारीहरू बेलुका ८ बजेसम्ममा अनिवार्य रूपमा फर्पिङस्थित प्रहरी चेकपोस्ट पार गरिसक्नुपर्नेछ। राति ८ बजेपछि फर्पिङ चेकपोस्टबाट हेटौँडातर्फ कुनै पनि यात्रुवाहक भाडाका सवारीसाधनलाई जान दिइने छैन।
प्रशासनद्वारा जारी सूचनाअनुसार साँघुरो र घुम्तीयुक्त सडकमा रातिको समयमा तीव्र गति, चालकको थकान, अनिद्रा तथा सवारीको कमजोर यान्त्रिक अवस्थाका कारण बारम्बार अप्रिय दुर्घटना हुने गरेको पाइएको छ। यसैलाई दृष्टिगत गर्दै यात्रु र सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न निश्चित समयतालिका तोकिएको हो।
उक्त रुटमा पर्ने सम्पूर्ण प्रहरी युनिट तथा ट्राफिक प्रहरीलाई सवारीसाधनको यान्त्रिक अवस्था, क्षमताभन्दा बढी यात्रु र मादक पदार्थ सेवन गरे/नगरेको विषयमा सूक्ष्म जाँच गर्न कडा निर्देशन दिइएको छ। प्रशासनले निर्धारित समयतालिका तथा सुरक्षा मापदण्डको पूर्ण पालना गर्न सम्पूर्ण यातायात व्यवसायी, चालक र यात्रुहरूसँग विशेष आग्रह गरेको छ।

